काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत् संयुक्त मोर्चा निर्माण गरी आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।
नेकपानिकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाउँदै त्यसविरुद्ध विभिन्न पक्षलाई समेटेर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
विभिन्न पक्षसँग छलफल जारी
प्रचण्डले आन्दोलनको तयारीका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजसँग निरन्तर संवाद भइरहेको जानकारी दिए। छलफल सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाइ छ।
“अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ,” उनले भने।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीबारे स्पष्ट पार्दै राजनीतिक र नागरिक तहमा भइरहेका छलफलले सकारात्मक रूप लिइरहेको दाबी गरे।
“म सबै नेता कमरेडहरूलाई प्रस्टसँग भन्न चाहन्छु, हामी त्यसको तयारीका लागि विभिन्न पार्टी, बुद्धिजीवी, नागरिक समाजसँग लगातार छलफलमा छौँ। र, सकारात्मक दिशामा चिजहरू अगाडि बढ्दै छन्,” प्रचण्डले भने।
चाडपर्वपछि आन्दोलन गर्ने संकेत
प्रचण्डले चाडपर्वपछि मुलुकको राजनीतिक परिस्थिति मुल्यांकन गरेर नयाँ आन्दोलन अघि बढाउनुपर्ने बताए। यद्यपि, आन्दोलनको स्वरूप, कार्यक्रम र समयबारे उनले विस्तृत जानकारी दिएनन्।
उनले नेता तथा कार्यकर्तालाई ‘प्रतिक्रान्ति’ परास्त गर्दै ‘क्रान्ति’लाई नयाँ उचाइमा पुर्याउने संकल्प गर्नसमेत आह्वान गरे।
“तपाईँ-हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ। हामी अहिले त्यही प्रक्रियामा छौँ,” उनले भने।






