काठमाडौँ । भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेला परेको छ । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट-३ को करिब १०० मिटरभित्र सुरुङमा शव फेला परेको अपर त्रिशूली-१ का सामाजिकविज्ञ हर्क तामाङले जानकारी दिए।
खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए । उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेला परेको प्रहरी प्रमुख थापाले बताए । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेला परेका हुन् । बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ । बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो । दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो ।
सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन् । निर्माता कम्पनीले कुन-कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्यांक राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ ।






