काठमाडौं । प्रहरी र नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर २७ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–७ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–८ मा बस्दै आएका ३८ वर्षीय राज श्रेष्ठ रहेका छन्। उनी मोहन केसीका नामबाट समेत परिचित रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठलाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–८ बाट असोज २ गते पक्राउ गरिएको हो।
प्रहरीका अनुसार श्रेष्ठविरुद्ध प्रहरी र सेनामा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो।
पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।






