काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरू देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभई बलजफ्तीको तरिकाहरू अवलम्बन भइरहेको बताए। अराजक तरिकाले मुलुकलाई हाँक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरूलाई हाँक्ने, मुलुकमा अराजकता व्याप्त भएको आरोप लगाए ।
संविधान चलाउने काम भइरहेको भन्दै उनले संविधान तोड्नकै लागि गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताए । अध्यक्ष ओलीले गत भदौमा कसको संलग्नता थियो भन्नेकुरा बिस्तारै खुल्दै गएको बताए । अध्यक्ष ओलीले केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको बताए। गत निर्वाचनमा मौन अवधिभित्र बीबीसीले नेपाललाई झुटो कुरा संप्रेषण गरेर अलमल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस गरेको बताए।
अध्यक्ष ओलीले भने, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिको यस्ता तरिकाहरू अवलम्बन भइरहेका छन् । यति व्यापक भएको छ यो तरिका, विधिहीनता, पद्धतिहीनता, नीतिहीनता, अराजकता । अराजक तरिकाले मुलुकलाई हाँक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरूलाई हाँक्ने, मुलुकमा अराजकता व्याप्त गर्ने । अराजकताले के ल्याउँछ, हिंसा । अराजकताले के ल्याउँछ, अकर्मण्यता । अराजकताले गैरजिम्मेवारपन ल्याउँछ, अराजकताले दिशाहीनता ल्याउँछ, कुनै बाटो ल्याउँदैन । केही एउटा प्रणाली अन्तर्गत, पद्धति अन्तर्गत चलाउने संविधान, संविधान भनेको देशको मूल कानून, त्यसअनुसार चल्ने चलाउने, लोकतान्त्रिक विधि, प्रक्रिया, प्रणालीबाट चल्ने ती कुराहरूलाई तोड्नका लागि नै गत वर्ष भदौ २३–२४ गतेको षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा । अहिले म को को संलग्न थिए, के के संलग्न थिए, खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्, अहिले मैले धेरै केही भन्नुपर्दैन । केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन् । विभिन्न प्रकारका, देखिएरै गरेका छन्, आश्चर्य लाग्दो गरी गरेका छन् । हामीले देखेका छौँ, मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा संप्रेषण गरेर अलमल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस गर्यो । यो भन्न अप्ठ्यारो मान्नुपर्दैन । मौन अवधि हामीलाई लाग्थ्यो, बीबीसीलाई लाग्दैनथ्यो । अर्थात् आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको त हामीले देख्यौँ । यस्ता अनेक कुराहरू छन् । अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरूले पनि देखाएका छन् । सामाजिक सञ्जालहरूले देखाएका छन्, सञ्चार माध्यमहरूले देखाएका छन् ।’
अध्यक्ष ओलीले आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको जिकिर गरे ।






