काठमाडौँ । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट सर्वस्व गुमाएकी विष्णुकुमारी डंगोल काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक नि:शुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण रूपमा स्वस्थ भई डिस्चार्ज भएकी छन् ।
उनलाई पति राजकुमारले मिर्गौला दान गरेका हुन् र उनी पनि पत्नीसँगै डिस्चार्ज भएकी छन् । बाढीले घरबार मात्रै होइन, वर्षौंसम्म थोपा–थोपा जोडेर उपचारका लागि जम्मा पारेको पैसासमेत बढीले बगाएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी ४१ वर्षीया विष्णुकुमारीको दयनीय अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि नेपाली काँग्रेसका नेता तथा केएमसीका सञ्चालक डा. सुनिलकुमार शर्माले उनीहरूको सम्पूर्ण उपचार नि:शुल्क गरिदिने घोषणा गरेका थिए ।
साथै उनले बिरामी तथा मिर्गौला दाताका लागि खानपिनको समेत विशेष व्यवस्था मिलाएका थिए । शर्माको घोषणा लगत्तै केएमसीको विज्ञ चिकित्सक टोलीले विष्णुकुमारीको मिर्गौला प्रत्यारोपण प्रक्रिया अगाडि बढाएको थियो ।
मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि पूर्ण रूपमा स्वस्थ भई अस्पतालबाट घर फर्किँदै गर्दा डंगोल दम्पतीले उपचारमा संलग्न ट्रान्सप्लान्ट सर्जन डा. सुरेश महर्जन, डा. विजयमानसिंह कटुवाल, डा. अनिल पोख्रेलसहित सम्पूर्ण चिकित्सक टोलीलाई भावुक हुँदै हृदयदेखि नै आभार प्रकट गरेका छन् ।
नेता शर्मा र केएमसी अस्पतालबाट प्राप्त यो मानवीय सहयोगबाट भावविह्वल बनेका राजकुमारले यो कठिन घडीमा आफूहरूले वास्तविक जीवनमा भगवान् नै भेटेको अनुभव सुनाए।
उनले भने, “हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो, तर आज भगवान् रुपी सुनील सरले हामीलाई नयाँ जीवन दिनुभयो । हामीले संसारमा सत्कर्म गर्ने मानिसहरू अझै जीवित छन् भन्ने महसुस गरेका छौँ । उहाँप्रति हाम्रो कोटी–कोटी नमन छ ।”
काठमाडौं मेडिकल कलेज (केएमसी) मा अहिलेसम्म गरिएका सबै मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन् । विष्णुकुमारी यही अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गराउने ८६ औँ बिरामी हुन् ।विपद्को समयमा पीडित नागरिकको पीडालाई आफ्नै परिवारको पीडाझैँ आत्मसात् गर्ने नेता शर्माले यसअघि नै बाढीपीडितहरूका लागि आफ्नो अस्पतालका ढोकाहरू नि:शुल्क खुला रहने घोषणा गरिसकेका छन् । ‘अब पैसा नभएका कारण कुनै पनि नेपालीले अकालमा ज्यान गुमाउनु नपरोस्’ भन्ने उनको दृढ संकल्प आज विष्णुकुमारीजस्ता सयौँ विपन्न बिरामीहरूका लागि जीवनको ठूलो सहारा बनेको छ ।






