काठमाडौँ । नेपाल पत्रकार महासंघले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोग स्वरूप रु. एकरएक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
महासंघले बाढीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुंगाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही रु. एक लाख उपलब्ध गराउने भएको हो । पत्रकार थामीको आजै कुशको शव बनाइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।
यस्तै, परिवार तथा घर बाससमेत गुमाएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई रु. एक लाख आर्थिक सहयोग उपलब्ध गराइने भएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा अन्य प्रभावित पत्रकार र सञ्चारमाध्यमका सवालमा महासंघका सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्यांक विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार पारी सोहीअनुसार सहायता वितरण गरिने जनाइएको छ ।






