काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचनका लागि अधिवेशन भएको हो।
समितिका सदस्य-सचिव राजु कटुवालले वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिएका छन्। काँग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदै छ।
तीन जिल्लामा अधिवेशन स्थगित
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन हुन सकेको छैन।
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, सुनसरी तथा मोरङको क्षेत्र नम्बर ६ बाहेकका वडामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।
त्यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पनि वडा अधिवेशन सकिएको छ।
बाँकी वडामा सोमबार पनि निर्वाचन
सप्तरीका क्षेत्र नम्बर २ र ४, सर्लाहीको क्षेत्र नम्बर २, रौतहटको क्षेत्र नम्बर १ तथा पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढेको कटुवालले बताएका छन्।
निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङको क्षेत्र नम्बर ६, रौतहटको क्षेत्र नम्बर १, सर्लाहीको क्षेत्र नम्बर २ र पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा बाँकी वडा अधिवेशन सोमबार सञ्चालन हुनेछ।
असोज ४ गते सम्पन्न हुन नसकेका अन्य सबै वडाको अधिवेशनलाई पनि असोज ५ गते निरन्तरता दिइने समितिले जनाएको छ।






