काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सेवा-सुविधा र जनशक्तिको अभावलाई मात्र समस्याका रूपमा प्रस्तुत गरेर आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने भन्दै सांसदहरूले परिषद्को अनुसन्धान र कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्।
सिंहदरबारमा सोमबार बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले कृषि अनुसन्धानलाई किसानको आवश्यकता र उत्पादनसँग जोड्न नसकेको भन्दै नार्कको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले नार्कले तीन दशकभन्दा बढी समयदेखि जनशक्ति र सेवा–सुविधाको अभाव देखाउँदै आए पनि कृषि प्रविधिको विकास र किसानका समस्या समाधानमा अपेक्षित उपलब्धि देखाउन नसकेको आरोप लगाए।
उनले नार्कका कायममुकायम कार्यकारी निर्देशकसँग परिषद्ले विकास गरेका कृषि प्रविधि र रैथाने बाली तथा बीउ संरक्षणका क्षेत्रमा हासिल गरेको ठोस उपलब्धिबारे स्पष्ट जवाफ माग गरे।
‘३५ वर्षदेखि एउटै गुनासो छ-सेवा सुविधा पुगेन, जनशक्ति भएन। तर कृषि प्रविधिको विकासको जिम्मा कसले लिने ?’ पोखरेलले प्रश्न गरे, ‘रोग-कीरा नियन्त्रण गर्न विषादीको विकल्प के छ र रैथाने बीउबिजन संरक्षणमा नार्कले हालसम्म के गर्यो ?’
कर्णालीको स्याउ र दैलेखको सुन्तला खेतीको उदाहरण दिँदै उनले अनुसन्धानका नाममा भित्र्याइएका प्रविधिले कतिपय अवस्थामा परम्परागत कृषि प्रणालीमै असर पारेको दाबी गरे।
उनले दैलेखमा रहेको अनुसन्धान केन्द्रबाट प्रविधि भित्र्याइए पनि त्यसको प्रभावकारितामाथि प्रश्न उठेको बताए। पुर्खौँदेखि संरक्षण हुँदै आएका रैथाने बीउ मासिने र नयाँ प्रविधिबाट उत्पादन प्रणाली नै प्रभावित हुने अवस्था आउन नहुने उनको भनाइ थियो।
पोखरेलले नार्कले तत्काल परिणाम देखिने अनुसन्धान र प्रविधि विकासमा ध्यान दिनुपर्ने बताए। राजनीतिक अस्थिरतालाई कार्यसम्पादनको बहानाका रूपमा प्रयोग गर्नुभन्दा कर्मचारी आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
सरकारले नार्कका जायज माग सम्बोधन गर्नुपर्ने भए पनि परिषद्ले पनि समयानुकूल प्रविधि विकास गरेर आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने उनले बताए।
कृषि क्षेत्रमा लगानी बढाउन सांसद बयकको माग
यसै बैठकमा एमाले सांसद प्रेमबहादुर बयकले कृषि क्षेत्रमा राज्यको लगानी र बजेट अपेक्षाअनुसार बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले कृषि क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा विगतको तुलनामा घट्दै गएको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनका अनुसार कुनै समय जीडीपीमा कृषिको योगदान ५० प्रतिशतभन्दा बढी रहेकामा अहिले करिब २४ प्रतिशतमा सीमित भएको छ।
किसानले अझै मललगायत आधारभूत कृषि सामग्री समयमै प्राप्त गर्न नसकेको भन्दै बयकले कृषि क्षेत्रका समस्या समाधानमा सरकारी संयन्त्र प्रभावकारी हुन नसकेको बताए।
उनले बजारमा खाद्य वस्तुको गुणस्तर र सुरक्षासम्बन्धी प्रश्न उठिरहेका घटनालाई समेत राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए। खाद्य सुरक्षा र बजार अनुगमनलाई प्रभावकारी बनाउन समितिले समेत नियमित अध्ययन तथा अनुगमन गर्नुपर्ने उनको भनाइ छ।
बयकले कृषि क्षेत्रको सुधार आयोग गठन र प्रतिवेदन निर्माणमा मात्र सीमित हुन नहुने बताए। त्यसको सट्टा ठोस कार्यक्रम, पर्याप्त बजेट, प्रभावकारी कार्यान्वयन र परिणामको मूल्याङ्कनमा जोड दिनुपर्ने उनले बताए।
‘भाषण र प्रतिबद्धताले मात्र कृषि उत्पादन बढ्दैन,’ बयकले भने, ‘मन्त्रालयका कार्यक्रम र बजेट कहाँ, कसरी र कति प्रभावकारी रूपमा कार्यान्वयन भएका छन् भन्ने विषयमा समितिले नियमित अनुगमन गरी मन्त्रालयलाई जवाफदेही बनाउनुपर्छ।’
‘नार्कको अनुसन्धान किसानसम्म पुग्नुपर्छ’
बयकले नार्कले विकास गरेका प्रविधि र अनुसन्धानका उपलब्धि किसानको खेतसम्म पुर्याउने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने बताए।
सफल अनुसन्धानलाई सीमित क्षेत्र वा अनुसन्धान केन्द्रमा मात्र नराखी देशभर प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो। हिमाल, पहाड र तराईको कृषि सम्भावनालाई छुट्टाछुट्टै पहिचान गरी उत्पादन र आत्मनिर्भरताको आधार बलियो बनाउनुपर्ने उनले बताए।
कृषि क्षेत्रको समग्र सुधारका लागि कृषि ऐन निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले खाद्य सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा खाद्य वस्तुको गुणस्तर र सुरक्षाको अवस्थाबारे समितिले गम्भीर अध्ययन गर्नुपर्ने बताए।
समितिले केवल बैठकमा छलफल गरेर नपुग्ने भन्दै बयकले स्थलगत अध्ययन, अनुगमन र सम्बन्धित निकायलाई जवाफदेही बनाउने प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताए।
‘अब ढिला गर्ने समय छैन,’ उनले भने, ‘कृषि क्षेत्रको पुनर्संरचना, पर्याप्त लगानी, प्रभावकारी कार्यान्वयन र किसानका समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।’
बैठकमा सांसदहरूले नार्कको अनुसन्धान, जनशक्ति, सेवा-सुविधा र प्रविधि विकाससँगै कृषि मन्त्रालयका कार्यक्रम तथा बजेटको प्रभावकारितामाथि समेत नियमित अनुगमन आवश्यक रहेको धारणा राखेका थिए।






