काठमाडौँ । झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ। संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिक र स्वास्थ्यकर्मीलाई खोप लगाइने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार झापामा हालसम्म जापानिज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।
अभियानका लागि जिल्लामा करिब ४ लाख ८५ हजार जनालाई लक्षित समूहमा राखिएको छ। स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने अभियानमा लक्षित समूहका नागरिकलाई नजिकको स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा पुगेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भएकाले खोपसँगै संक्रमणबाट जोगिन व्यक्तिगत तथा वातावरणीय सावधानी अपनाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ।
लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीरका अधिकांश भाग ढाकिने गरी कपडा लगाउने तथा घर वरिपरि पानी जम्न नदिने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले लक्षित समूहका सबै नागरिकलाई अभियानमा सहभागी भई समयमै खोप लगाउन अनुरोध गरेको छ।






