काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् ।
नेपाल साहित्यिक पत्रकार संघका प्रतिनिधिसँग आज मन्त्रालयमा भएको भेटका क्रममा उनले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने महत्वपूर्ण माध्यम भएको बताए ।
सञ्चार मन्त्री डा. तिमिल्सिनाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने उल्लेख गरे । उनले दुर्गम तथा ग्रामीण क्षेत्रबाट हुने पत्रकारितालाई समेत राज्यले प्राथमिकताका साथ हेर्ने बताए ।
साहित्यिक पत्रकार संघले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेटिनुपर्ने, पत्रपत्रिकाको ढुवानीमा देखिएका समस्या समाधान गर्न हुलाक सेवामार्फत आवश्यक सहजीकरण गरिनुपर्नेलगायतका सुझाव दिएको छ ।
साथै, साहित्यिक पत्रकारिताको विकास र प्रवर्द्धनका लागि राज्य तथा सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि संघको भनाई छ ।






