काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्रीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आज आयोजित जलवायुसम्बन्धी उच्चस्तरीय बैठकमा जलवायु जोखिममा रहेका मुलुकलाई पर्याप्त सहयोग परिचालन हुनुपर्ने बताए । मन्त्री खनालको निजी सचिवालयका अनुसार हालैको बाढीबाट नेपालले व्यापक मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको जानकारी दिए।
उनले जलविद्युत् पूर्वाधारमा गम्भीर क्षति पुगेको र दशकौँको प्रयासबाट हासिल भएका विकासका उपलब्धि पछाडि धकेलिएका, प्रारम्भिक मूल्यांकनअनुसार जलवायुजन्य विपद्बाट नेपालले पाँच अर्ब अमेरिकी डलरभन्दा बढी क्षति व्यहोरेको जानकारी दिए ।
“नेपालले यो संकट सिर्जना गरेको होइन । विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम छ तर यसको असर नेपालले असमान रूपमा र पटक पटक भोगिरहेको छ”, मन्त्री खनालले भने । उनले जलवायुजन्य विपद् नेपालका लागि केवल मानवीय आपत्काल नभई विकास आपत्काल, न्यायको संकट तथा समुदाय र भावी पुस्ताको अस्तित्वसँग जोडिएको गम्भीर चुनौती बनेको बताए ।
भोटेकोशी बाढी स्थानीय घटना मात्र नभएको बताउँदै उनले विश्वका जलवायु जोखिममा रहेका अन्य मुलुकका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने विचार व्यक्त गरे ।
“हिमालयमा जे हुन्छ, त्यो हिमालयमै सीमित रहँदैन”, उनले भने, “हिमालय पृथ्वीको जीवन–समर्थन प्रणालीको अभिन्न हिस्सा हो ।” अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धताबाट कार्यान्वयनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै उनले विपद् आएपछि मात्र सहयोग गर्ने पद्धतिभन्दा विपद् आउनुअघि नै समुदायसम्म पुग्ने गरी पर्याप्त, अग्रिम र सहज पहुँचयोग्य जलवायु वित्त उपलब्ध गराउनुपर्ने बताए ।
उनले जलवायु अनुकूलनलाई प्राथमिकता दिनुपर्ने र नेपालजस्ता मुलुकका लागि अनुकूलन कुनै विकल्प नभई जीवन रक्षाको आधार भएको स्पष्ट पारे । मन्त्री खनालले विश्वव्यापी प्रारम्भिक चेतावनी प्रणालीमा सबैको पहुँच, पर्वतीय पारिस्थितिक प्रणाली अनुकूल भरपर्दो प्रविधि, जलवायु सूचना सेवा तथा जलवायु उत्थानशील पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।
साथै, हानि तथा क्षति कोषलाई पर्याप्त रूपमा पुँजीकृत गर्दै छिटो, सरल र सहज पहुँचयोग्य बनाउनुपर्ने तथा बहुपक्षीय विकास बैंकहरूले विपद्का बेला शीघ्र र किफायती वित्त परिचालन गर्नुपर्ने उनले बताए । उनले हिमालदेखि समुद्रसम्म जलवायु परिवर्तनका प्रभावलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै १.५ डिग्री सेल्सियसको तापक्रम वृद्धिको लक्ष्यलाई कायम राख्न विश्वले दृढ प्रयास गर्नुपर्नेमा जोड दिए ।
“यो पर्वतीय तथा तटीय समुदायको अस्तित्वसँग जोडिएको विषय हो”, उनले भने । विश्व समुदाय जलवायु संकटप्रति तत्काल गम्भीर नभएमा भविष्यमा अझ ठूलो जोखिम निम्तिनसक्ने उनले चेतावनी दिए । उनले राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, मन्त्री, परोपकारी संस्था, सञ्चारमाध्यम, नागरिक समाज, निजी क्षेत्र तथा शैक्षिक समुदायलाई जलवायु संकटविरुद्ध साहस र स्पष्टताका साथ अघि बढ्न आह्वान गरे ।






