काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन र मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले प्राविधिक विश्लेषणका विधिहरू प्रयोगमा ल्याएको बताएका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री साहले ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ जस्ता वैज्ञानिक उपकरणमार्फत इन्धन आपूर्ति प्रणालीलाई सुधार गर्न लागिएको जानकारी दिएका हुन् ।
राष्ट्रिय सभामा सांसद रुक्मिणी कोइरालाले पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि र खाना पकाउने ग्यासको अभावका कारण आम नागरिकले सास्ती भोग्नुपरेको भन्दै सरकारको तत्कालीन र दीर्घकालीन योजनाबारे प्रश्न उठाएका थिए ।
जवाफमा मन्त्री साहले इन्धन अभावलाई एकल कारण नभई आपूर्ति, पूर्वाधार, नीतिगत र अन्तर्राष्ट्रिय प्रभावको संयुक्त परिणामका रूपमा हेरिएको बताए ।
‘फिसबोन डायग्राम’ मार्फत गरिएको विश्लेषणले आयातमा निर्भरता, भण्डारणमा समस्या, डिलर वितरण प्रणालीमा असमानता र अन्तर-निकाय समन्वयको कमीलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको उनले उल्लेख गरे।
मन्त्री साहले भने, ‘हामीले यसलाई केवल सिलिन्डरको संख्यामा मात्र सीमित नराखी, ढुवानीदेखि भान्सासम्मको सम्पूर्ण आपूर्ति शृङ्खलालाई वैज्ञानिक बनाउने काम गरिरहेका छौँ ।’
मन्त्री साहले हाल पेट्रोल, डिजेल र हवाई इन्धनको कुनै अभाव नरहेको दाबी गर्दै ग्यास आपूर्ति सहज बनाउन अर्थ, गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल थालिएको जानकारी दिए । साथै, मूल्य स्थिरीकरण कोषको प्रभावकारी परिचालन र अनावश्यक प्रशासनिक खर्च कटौती गर्दै उपभोक्तालाई राहत दिने गरी निगमको लागत संरचना पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।






