काठमाडौँ। नेपाली सेनाले बाढी पहिरो प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत हालसम्म ४ हजार २४२ जनाको उद्धार गरेको जनाएको छ। सेनाले असोज ८ गते साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेको बताएको हो।
सडक सम्पर्क विच्छेद भएका रसुवा र नुवाकोटका प्रभावित स्थानमा सेनाले ड्रोनमार्फत राहत तथा अत्यावश्यक सामग्री पुर्याइरहेको छ। सेनाका अनुसार हालसम्म ड्रोनबाट ३६ हजार ३१७ किलोग्राम सामग्री ढुवानी गरिएको छ। रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत स्थानमा आधार स्थापना गरी पैदल गस्तीबाट खोजी कार्य पनि भइरहेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा पूर्वी र पश्चिम नवलपरासीका प्रभावित क्षेत्रमा ८ हजार २ सयभन्दा बढी सैनिक प्रत्यक्ष खटिएको सेनाले जनाएको छ। उनीहरूले अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत ढुवानी, अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने काम तथा आपत्कालीन उपचार गरिरहेका छन्।
बेत्रावती नदीमा पुल जडानको तयारीका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुलसम्म चट्टान काट्ने र विस्फोटन गर्ने काम गरी करिब २०० मिटर ट्र्याक खोलिएको छ। सेनाका अनुसार उक्त ट्र्याक करिब ४.५ मिटर चौडा छ।
सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्तीबाट असोज ८ गते १० जनाले स्वास्थ्य सेवा लिएका छन्। ती सेवाबाट हालसम्म ४ हजार ४१ जना लाभान्वित भएको सेनाको विवरणमा उल्लेख छ।






