काठमाडौँ । स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएको सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूबाट काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टर र बा ३१ प २१५९ नम्बरको मोटरसाइकल फेला परेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले असोज ८ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ मा खोजतलास गर्ने क्रममा ट्याक्टर चोरी तथा चोरीका ट्याक्टर खरिदबिक्रीमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको परिसरले जनाएको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका-५ छालिङका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी छन्। त्यस्तै, रौतहटको परोहा नगरपालिका-५ घर भई भक्तपुरको बोडेमा कवाड व्यवसाय सञ्चालन गर्ने ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रेको पाँचखाल नगरपालिका-४ घर भई कवाड व्यवसाय सञ्चालन गर्ने ४८ वर्षीय बिपिन कुमार शाही पनि नियन्त्रणमा छन्।
प्रहरीका अनुसार चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको छ।






