काठमाडौँ । सरकारले दलित समुदायको परिभाषा र उनीहरूले प्रयोग गर्ने थरको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको विवरण महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रकाशित गरिएको हो। मुद्रण विभागका अनुसार यो सूचना २०८३ असोज ८ गतेको राजपत्र, सङ्ख्या ३६ मा समावेश छ।
प्रकाशित परिभाषाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा छुवाछुतको व्यवहार भोगेका तथा आर्थिक, राजनीतिक, सामाजिक-सांस्कृतिक, शैक्षिक र रोजगारीलगायत क्षेत्रमा उत्पीडन र बहिष्करणमा पारिएका समुदायलाई समेटेको छ। परिभाषामा श्रम, सीप र कलामार्फत राज्य निर्माणमा उनीहरूले पुर्याएको योगदानलाई पनि मान्यता दिइएको छ।
यसअघि राष्ट्रिय दलित आयोगले सिफारिस गरेको थर सूचीसम्बन्धी विवरणमा मन्त्रालयले सरोकारवालासँग राय सुझाव मागेको थियो। स्वीकृत विवरण राजपत्रमा प्रकाशित भएसँगै दलित समुदायको परिभाषा र थर सूचीकरण सरकारी अभिलेखमा सार्वजनिक भएको छ।






