काठमाडौँ। जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकले पछाडिबाट स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक योगेन्द्र मगरको मृत्यु भएको छ।
प्रहरीका अनुसार गएराति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा।प्र।०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
टाउकोमा गम्भीर चोट लागेका अन्दाजी ३५ वर्षीय मगरलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएकोमा राति ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले ट्रक र त्यसका चालक जितपुरसिमरा–२१ का अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






