काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतको काम जारी राखेको छ।
सेनाले आइतबार दिएको विवरण अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्वारमा पहिरोका कारण फसेका ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरी सोही गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयमा पुर्याइएको छ।
पर्वत, म्याग्दी र बागलुङका विभिन्न प्रभावित स्थानबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ। पाल्पाको रामपुर नगरपालिका-४, वडबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि त्यहाँ पनि सेना परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
भेरी नदीको टापुबाट चार जनाको उद्धार
जाजरकोटको भेरी नगरपालिका-१३, कुदुस्थित भेरी नदीको बीच टापुमा फसेका चार जनालाई हेलिकप्टरबाट उद्धार गरिएको सेनाले जनाएको छ।
प्रभावित क्षेत्रमा राहत पुर्याउन सेनाको हेलिकप्टर प्रयोग गरिएको छ। सेनाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग विद्यालय, बागलुङको तमानखोला गाउँपालिकास्थित सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा गरी ९७९ किलोग्राम राहत सामग्री ढुवानी गरिएको छ।
अवरुद्ध सडक खुलाइयो, बाँध मजबुत बनाइयो
डडेल्धुराको आलिताल गाउँपालिका-८, भगरियामा पहिरोले अवरुद्ध जोगबुडा-बुडर सडक खण्ड सेना परिचालन गरी पुनः सञ्चालनमा ल्याइएको छ।
रौतहटको मौलापुर नगरपालिका-१, मर्यादापुरमा लालबकैया नदीको बहाव बढेपछि करिब ८० मिटर बाँध थप मजबुत बनाइएको पनि सेनाले जनाएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत ढुवानी र जोखिम न्यूनीकरणका काम जारी रहेको सेनाको भनाइ छ।






