काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम ‘युद्धस्तरमा’ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। आइतबार जारी विज्ञप्तिमा उनले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावित परिवारसम्म राहत पुर्याउने कामलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएका हुन्।
लामिछानेले अवरुद्ध राजमार्ग शीघ्र सञ्चालनमा ल्याउन र घरबारविहीन नागरिकका लागि सुरक्षित आवास तथा पुन:स्थापनाको प्रबन्ध गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन्। प्रतिकूल मौसमसँगै विपद्को जोखिम कायमै रहेको उल्लेख गर्दै उनले नदी तटीय र पहिरोको जोखिम भएका क्षेत्रका नागरिकलाई सतर्क रहन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न अपिल गरेका छन्।
उनले विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायलाई धन्यवाद पनि दिएका छन्।
लामिछानेले रास्वपाका नेता, सदस्य, शुभचिन्तक तथा र्यापिड एक्सन टिमलाई सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित नागरिकको सेवामा खटिन आह्वान गरेका छन्।







