काठमाडौँ। हुम्लाको चङ्खेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा जडीबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा मुगुको कार्मारोङ गाउँपालिका–९ का २२ वर्षीय गणेश बुढा रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार गत भदौ २८ गते मुगुको कार्मारोङ गाउँपालिकाका विभिन्न स्थानबाट १३ जनाको टोली जडीबुटी संकलनका लागि हुम्लाका सामुदायिक वनतर्फ गएको थियो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता जनकबहादुर सिंहका अनुसार टोलीका १३ जनामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना अझै सम्पर्कविहीन छन्। अन्य तीन जना घर फर्किसकेका छन् भने बाँकी सात जना हाल लिमी प्रहरी चौकीको सम्पर्कमा आएका छन्।
घटनाको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। वास्तविक विवरण पत्ता लगाउन लिमी प्रहरी चौकीमा हुम्ला र मुगु दुवै पक्षका प्रतिनिधिहरूलाई बोलाएर छलफल गराइएको छ।
यसैबीच, बागेढुंगा सामुदायिक वनका अध्यक्ष रंगबहादुर शाहीले वन पदाधिकारीहरूले अनुगमन गर्ने क्रममा केही व्यक्तिहरू भागेको बताएका छन्। खोजीका क्रममा सुरुमा एक जनालाई नियन्त्रणमा लिएपछि अन्य नौ जना पनि प्रहरीको सम्पर्कमा आएका थिए।






