काठमाडौँ । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकबाट नेपाल आगामी कार्यकालका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्षमा चयन भएको हो।
एआईआईबीको संरचनाअनुसार बैंकमा एक जना अध्यक्षसहित क्षेत्रीय र गैर-क्षेत्रीय सदस्य मुलुकबाट उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्ष पदमा चयन भएको छ।
वार्षिक बैठकका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन्।
बैठकको दोस्रो दिन आयोजित गभर्नर्स बिजनेस राउण्ड टेबललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पूर्वाधार क्षेत्रमा हुने लगानी र पूँजी निर्माण विकासोन्मुख तथा कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि महत्वपूर्ण आधार रहेको बताए।
उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। नेपालजस्ता विकासशील मुलुकको विकास आवश्यकता र वित्तीय क्षमता अनुकूल बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने उनको भनाइ थियो।
वाग्लेले निजी क्षेत्रको लगानी आकर्षित हुने गरी वित्तीय स्रोत परिचालन गर्नुपर्नेमा समेत जोड दिए। स्वदेशी तथा विदेशी निजी पूँजीलाई पूर्वाधार विकासमा सहभागी गराउन बैंकको वित्तीय सहयोग लगानीमैत्री हुनुपर्ने उनले बताए।
नेपालको एआईआईबीको उपाध्यक्ष पदमा चयनलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थामा नेपालको सहभागिता र भूमिकाको विस्तारका रूपमा हेरिएको छ। आगामी कार्यकालमा नेपालले बैंकको नीति तथा लगानीसम्बन्धी छलफलमा गैर–क्षेत्रीय सदस्य मुलुकको प्रतिनिधित्व गर्नेछ।



