काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक तथा विज्ञतामूलक पृष्ठभूमि भएका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार संघीय संसद्को प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक गतिविधिसँगै सांसदहरूले आफ्नो व्यावसायिक दक्षतालाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेकाले आफ्नो विज्ञतालाई देश विकासका दीर्घकालीन योजना र नीतिमा उपयोग गर्न आग्रह गरे।
प्रधानमन्त्री शाहले राजनीतिक विषयमा केन्द्रित हुनुका साथै दीर्घकालीन नीति, नयाँ सोच र प्राविधिक समाधान पहिल्याउनेतर्फ सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताए।
“तपाईँहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” उनले भने।
प्रधानमन्त्री शाहले निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा आफ्नो प्राविधिक दक्षता र पेशागत पहिचानलाई मुलुक निर्माणसँग जोड्नुपर्नेमा जोड दिए।
उनले प्राविधिक तथा विज्ञतामूलक क्षमता भएका सांसदहरूलाई असाधारण क्षमता भएका व्यक्तिका रूपमा चित्रण गर्दै उनीहरूबाट नयाँ उपाय र अवधारणा आउनुपर्ने बताए । नयाँ सोचलाई व्यवहारमा कार्यान्वयन गर्न सके छोटो अवधिमै मुलुकको विकासमा उल्लेख्य परिवर्तन ल्याउन सकिने उनको धारणा थियो।
प्रधानमन्त्री शाहले पाँच वर्षको अवधिमा मुलुकको विकासमा ठोस उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै त्यसका लागि नीति निर्माण तहमा रहेका विज्ञ तथा प्राविधिक जनशक्तिको ज्ञान र क्षमतालाई अधिकतम उपयोग गर्नुपर्ने बताए।



