काठमाडौँ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक २०८३’ र ‘नि:शुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गरेकी थिइन् ।
सभामुखले निर्णयार्थ प्रस्तुत गरेको उक्त तीनवटै प्रस्तावको पक्षमा सदनका सदस्यहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए भने विपक्षमा कुनै आवाज नआएपछि सभामुखले ती विधेयकहरू सर्वसम्मतिले समितिमा पठाइएको घोषणा गरेका हुन् ।
यी विधेयकहरू अब सम्बन्धित विषयगत समितिमा विस्तृत रूपमा दफावार छलफलका लागि जानेछन् । समितिले छलफल पश्चात् तयार पारेको प्रतिवेदन पुनः सदनमा पेश गर्नेछ, जहाँ थप प्रक्रियाहरू अगाडि बढ्नेछन् ।



