काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन्।
मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन जाने भएको उनको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले अक्टोबर ६ मा हुने ‘लिडर्स प्लेनरी’ सत्रलाई सम्बोधन गर्नेछन्। त्यसअघि आयोजना हुने सञ्चारकर्मीसँगको संयुक्त प्रश्नोत्तर कार्यक्रममा पनि उनले सहभागिता जनाउनेछन्। उक्त कार्यक्रममा पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन्।
जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रिय संवाद तथा सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका असर र जलवायु न्यायका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
विशेष गरी हिमाली मुलुकका सरोकार, जलवायु परिवर्तनका कारण परेको असर तथा जलवायु न्यायका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने अवसरका रूपमा भ्रमणलाई हेरिएको छ।
अस्ट्रेलियाली विदेश मन्त्रीसँग द्विपक्षीय भेटवार्ता
फिजी र टुभालुको कार्यक्रम सम्पन्न गरेपछि परराष्ट्र मन्त्री खनाल अस्ट्रेलिया जानेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा पारस्परिक हितका विषयमा छलफल हुने जनाइएको छ।
अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास तथा सिड्नीमा रहेका नेपाली डायस्पोराले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।
ती कार्यक्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्री खनाल अस्ट्रेलियासहितको भ्रमण सम्पन्न गरी अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम छ।



