काठमाडौँ । बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका र दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री किरण थापामगरले शुक्रबार उपाध्यक्ष रोकासहित सदस्यद्वय डा. दीपकविक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवरसिंह थापालाई शपथ गराएका हुन्।
उपाध्यक्ष रोकाले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेका रोकासँग युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रूपमा काम गरेको अनुभव छ।



