काठमाडौँ । मोरङको लेटाङ नगरपालिका-०९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गएराति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारी बस्ने २७ वर्षीय कुमार नेपाली र पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको पथरीशनिश्चरे–८ बस्ने ३२ वर्षीय अमर नेपाली घाइते भएका छन् ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र न्युरो अस्पताल, विराटनगर पठाइएको थियो । उपचारका क्रममा कुमार र सन्देशको मृत्यु भएको हो ।
घाइते अमरको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



