झापा । जिल्ला प्रशासन कार्यालयले जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेको पुन:स्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ ।
अनलाइन फारममार्फत सहिद परिवार र घाइतेको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षासहितका चार क्षेत्रगत सूचना संकलन गरी ‘प्रोफाइल’ निर्माण गरिने प्रशासनले जनाएको छ ।
जिल्लामा हालसम्म दुई सहिद परिवार र सम्पर्कमा आएका ४० जना घाइते रहेका छन् । तीमध्ये ३७ जनाले घाइते परिचयपत्र प्राप्त गरिसकेका छन् भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट घाइतेको अवस्था अनुसार २८ जनाको वर्गीकरण भइसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०८३ असार १८ गने स्वीकृत एकीकृत प्याकेजमा समावेश २४ बुँदाको प्रभावकारी कार्यान्वयनका लागि यो कदम चालिएको उनले बताए ।
सरकारले घोषणा गरेको नि:शुल्क स्वास्थ्य उपचार, नि:शुल्क शिक्षा, रोजगारीलगायतका एकीकृत राहत प्याकेजलाई घाइते तथा सहिद परिवारको वास्तविक माग र आवश्यकतासँग जोड्न आवश्यक सूचना स्रोतको रूपमा रहने गरी यो ‘प्रोफाइल’ तयार पारिने उनको दाबी छ ।
सो कार्यका लागि सम्बन्धित सहिद परिवार र घाइतेलाई आफ्ना विवरण अद्यावधिक गर्न अनुरोध गरिएको छ । ‘प्रोफाइल’ तयार गर्ने यस महत्त्वपूर्ण कार्यमा आवश्यक समन्वय र सहजीकरणको लागि हालसम्म सम्पर्कमा नआएका जेन–जी आन्दोलनका घाइतेलाई यथाशीघ्र जिप्रकामा सम्पर्क राख्न अनुरोध गरिएको उनले बताए ।



