नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । बिनयी त्रिवेणी गाउँपालिका–४ पिधरीस्थित होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५४ वर्षीय ओमबहादुर पल्ली मगर रहेका छन् ।
पिधरीबाट दुम्किबासतर्फ आउँदै गरेको लु.४ त ५५०५ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर सडकको बायाँपट्टि रहेको माटोको ढिस्कोमा ठोक्किएको थियो । ठोक्किएपछि चालक मगर सडकमा खसेर घाइते भएका थिए ।
घाइते मगरलाई उद्धार गरी उपचारका लागि डण्डास्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याइएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि ट्याक्टर सडकबाट करिब ५० मिटर तल खेतमा पुगेको छ ।
घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासबाट प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।



