काठमाडौँ । रुपन्देहीमा १० वर्षीया बालिका अपहरणमा संलग्न रहेको आरोप लागेका एक युवकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
नेपाल प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको हो।
थारुलाई असोज १८ गते राति तिलोत्तमा-१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
प्रहरीले थारुमाथि तिलोत्तमा-१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिकाको अपहरणमा संलग्न रहेको आरोप लगाएको छ।
बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास थालेको थियो। खोजीका क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट बालिकालाई सकुशल फेला पारिएको थियो।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



