काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) र निवृत्तिभरणसम्बन्धी सेवा पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ।
राष्ट्रिय किताबखानाबाट प्रवाह हुने सेवालाई कर्मचारीमैत्री, सहज र प्रभावकारी बनाउने उद्देश्यले किताबखानाले विद्युतीय निवृत्तिभरण र विद्युतीय सिटरोल प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।
किताबखानाले सार्वजनिक सूचना जारी गर्दै निजामती शाखामा विद्युतीय सिटरोल तथा विद्युतीय निवृत्तिभरण प्रणाली सफलतापूर्वक कार्यान्वयनमा आइसकेको जनाएको छ।
यससँगै निजामती शाखाअन्तर्गत कर्मचारीको निवृत्तिभरण, उपदान, सञ्चित बिदा तथा औषधि उपचारबापतको रकम निकासा र सिट रोलसम्बन्धी सेवाहरू २०८३ कात्तिक १ गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिने भएको छ।
व्यक्तिगत विवरण अद्यावधिक गर्न कर्मचारीलाई आग्रह
विद्युतीय सिट रोलसम्बन्धी सेवा लिन सम्बन्धित कर्मचारीले राष्ट्रिय किताबखानाको कर्मचारी सूचना प्रणाली (पीआईएस) मा रहेको आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्नेछ।
किताबखानाले कर्मचारीलाई विभागको वेबसाइटमा गई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। यसबाट कर्मचारीको अभिलेख व्यवस्थित गर्नुका साथै सिट रोलसम्बन्धी काम अनलाइन प्रणालीबाट अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
निवृत्तिभरणका लागि कार्यालयले विवरण पठाउनुपर्ने
विद्युतीय निवृत्तिभरण प्रणाली प्रयोग गर्न सम्बन्धित कार्यालयले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। प्रणाली सञ्चालनका लागि आवश्यक प्रयोगकर्ता विवरण प्राप्त गर्न कार्यालयले कर्मचारी संकेत नम्बर, नाम, पद, इमेल ठेगाना र फोन नम्बरलगायत विवरण समेटिएको आधिकारिक पत्र राष्ट्रिय किताबखानामा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
किताबखानाले तोकेको प्रक्रिया पूरा भएपछि सम्बन्धित कार्यालयले विद्युतीय प्रणालीमार्फत निवृत्तिभरणसम्बन्धी काम अघि बढाउन सक्नेछ।
राष्ट्रिय किताबखानाका अनुसार यसअघि नै भदौ २७ गतेदेखि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट समेत विद्युतीय निवृत्तिभरणसम्बन्धी काम सुरु भइसकेको छ।
सरकारी कर्मचारीको अभिलेख तथा अवकाशपछिका सुविधासम्बन्धी प्रक्रिया विद्युतीय बनाउँदा कागजी प्रक्रिया घट्ने, सेवा प्रवाह सहज हुने र कर्मचारीले निवृत्तिभरणलगायतका कामका लागि भोग्नुपर्ने झन्झट कम हुने छ।




