बैतडी । बैतडीको सिगास गाउँपालिका-१ सुन्दरखालका केशव विकको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ। हाल भारतको नयाँदिल्लीस्थित एम्स (एआईआईएमएस) अस्पतालमा उपचाररत केशवको शल्यक्रिया गर्नुपर्ने भएपछि परिवारलाई उपचार खर्च जुटाउन समस्या परेको हो।
परिवारका अनुसार केशव सानै उमेरमा लड्दा कम्मर र घुँडामा चोट लागेको थियो। त्यतिबेला चोटको खासै असर नदेखिए पनि पछिल्लो समय समस्या गम्भीर बन्दै गएपछि उपचारका लागि अस्पताल पुर्याइएको हो। चिकित्सकीय उपचारका क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था आएको परिवारले जनाएको छ।
केशवका बुबा दशरथ बिक भारतमा ज्याला–मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छन्। नौ–दश जनाको परिवारको जिम्मेवारीसमेत उनकै काँधमा रहेको र छोराको उपचारमा थप खर्च आवश्यक परेपछि परिवार आर्थिक समस्यामा परेको छ।
उपचारमा लाग्ने खर्च धान्न नसक्ने अवस्था आएपछि परिवारले देश तथा विदेशमा रहेका नेपाली तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ।
परिवारले सानो सहयोगले समेत केशवको उपचारलाई निरन्तरता दिन महत्वपूर्ण मद्दत पुग्ने भन्दै सहयोगसँगै उपचारका लागि गरिएको अपिललाई अन्य व्यक्तिसम्म पुर्याइदिनसमेत अनुरोध गरेको छ।
नेपालबाट आर्थिक सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैंकमा जानकी लुहारको नाममा रहेको खाता नम्बर ०१९०७०१०२९५०६२ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ। भारतबाट सहयोग गर्न चाहनेका लागि केशवका बुबा दशरथ विकको क्यूआरमार्फत रकम उपलब्ध गराउन सकिने छ।



