काठमाडौँ । दोलखामा वर्षौँदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ।
पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको हो।
आर्थिक वर्ष २०७९।८० देखि ठेक्का सम्झौता गरी दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
सडक डिभिजनले पटक पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोडिएको हो ।
ठेक्का तोडिएपछि बाँकी काम सम्पन्न गर्न लाग्ने खर्च र भएको क्षतिको मूल्याङ्कन गरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गर्ने सूचना जारी गरिएको छ।




