मुगु । मुगुको खत्याड गाउँपालिका-११ स्थित बिरा खोलामा सुख्खा पहिरो खस्दा स्काईभेटरसहित पुरिएका चालकको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनामा स्काईभेटरका सहचालक पनि घाइते भएका छन्।
आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा माथिबाट एक्कासि सुख्खा पहिरो खसेको थियो। पहिरोमा बा ३ क ३२७६ नम्बरको स्काईभेटरसहित चालक पुरिएका थिए।
पहिरोमा पुरिने चालक बझाङको बुङ्गल नगरपालिका-१० निवासी २४ वर्षीय बिमल बाग रहेको जनाइएको छ। उनलाई बिहान करिब १०:३० बजे जेसीबीको सहायताले पहिरो पन्छाएर उद्धार गरिएको हो। गम्भीर अवस्थामा रहेका बागलाई बा.प्र.०१-००४ क ६४८३ नम्बरको ट्रकमार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, रातापानीतर्फ लगिएको छ।
यस्तै, स्काईभेटरका सहचालक मुगुको सोरु गाउँपालिका-१ निवासी २२ वर्षीय विनय मल्ललाई पहिरोसँगै खसेको ढुङ्गाले हात र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि माझचौर मेडिकल पठाइएको छ।



