नुवाकोट । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपाल (आईएचआरओ-नेपाल) ले नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ। संगठनले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै पीडित परिवारको अवस्थाबारे जानकारीसमेत लिएको छ।
असोज १७ गते शनिबार आयोजित राहत वितरण कार्यक्रम आईएचआरओ–नेपालका अध्यक्ष वी.के.एस. ठाकुरीको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा संगठनकी उपाध्यक्ष शिला न्यौपाने, सचिव सूरज अर्याल तथा निर्देशकहरू विद्या पौडेल महर्जन र बिनिता फुयाँललगायतको सहभागिता रहेको थियो।
स्थानीय वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपालको समन्वयमा सम्पन्न कार्यक्रममा संगठनका प्रतिनिधिहरूले बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै पीडित परिवारको अवस्था र तत्कालीन आवश्यकताबारे जानकारी लिएका थिए।
विपद्का कारण कठिन परिस्थितिमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा प्रभावित समुदायप्रति मानवीय ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले राहत वितरण गरिएको संगठनले जनाएको छ।
संगठनका अनुसार प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको संरक्षण, राहत तथा पुनर्स्थापनाका प्रयासमा सरोकारवाला निकाय र सामाजिक संघसंस्थाबीच समन्वय आवश्यक छ।
आईएचआरओ–नेपालले मानव अधिकारको संरक्षणसँगै मानवीय सहायता र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि विपद् प्रभावित तथा सहयोगको आवश्यकता भएका समुदायका लागि राहत र मानवीय सेवाका गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।




