काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ ।
पार्टीले सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच प्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ।
साथै, राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो-कोहीलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पारेको छ।




