काठमाडौँ । राजमार्गका होटेल तथा रेस्टुरेन्टले सार्वजनिक यातायातका यात्रुलाई बासी, सडेगलेको र महँगो खाना खुवाउने गरेको गुनासो बढेपछि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अखाद्य खानाका कारण यात्रु बिरामी परेमा होटेल तथा रेस्टुरेन्ट सञ्चालकसँगै सम्बन्धित सवारी साधनका चालकलाई समेत कारबाही गर्ने जनाएको छ।
विभागका अनुसार होटेल वा रेस्टुरेन्टमा उपलब्ध गराइएको खाना तथा नास्ताका कारण यात्रुको स्वास्थ्यमा समस्या आएको पाइएमा सञ्चालक र चालक दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ।
खानाको स्वच्छता, गुणस्तरमा कमी पाइएमा वा तोकिएको भन्दा बढी मूल्य लिएर ठगी गरेमा यात्रुहरूले तत्काल नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा फोन गरी जानकारी गराउन सक्नेछन्।
यसैगरी, यात्रुहरूले नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यालयहरूमा पनि सिधै उजुरी दिन सक्ने व्यवस्था मिलाइएको छ।




