सरकारी कार्यालयमा कार्यालय प्रमुखदेखि खरिद प्रक्रियामा सहभागी हुने जो-कोहीलाई सार्वजनिक खरिद प्रक्रिया कति लामो, संवेदनशील र जिम्मेवारीपूर्ण हुन्छ भन्ने थाहा हुन्छ। खरिद गर्नुपर्ने आवश्यकता पहिचान गर्नेदेखि बजेटको व्यवस्था, स्पेसिफिकेसन तयार गर्ने, खरिद योजना बनाउने, बोलपत्र आह्वान गर्ने, मूल्याङ्कन गर्ने, स्वीकृति गर्ने, सम्झौता गर्ने, कार्यान्वयन गर्ने र अन्ततः सामान वा निर्माण कार्य बुझेर भुक्तानी गर्ने कामसम्म आइपुग्दा धेरै चरण पार गर्नुपर्छ।
कहिलेकाहीँ त लाग्छ-सरकारी कार्यालयमा एउटा सामान खरिद गर्नु भनेको बच्चा जन्माउनुजस्तै हुन्छ !
यो तुलना सुन्दा अलि अनौठो लाग्न सक्छ। सन्तान जन्माउनेजस्तो संवेदनशील प्राकृतिक प्रक्रियासँग खरिदजस्तो सामान्य प्रक्रियालाई तुलना गरिएको भनी आलोचना पनि गर्न सकिन्छ। तर गहिरिएर हेर्ने हो भने दुवै प्रक्रियामा केही रोचक समानता भेटिन्छ।
१. आवश्यकता महसुस हुनु-गर्भधारणको सुरुवात
घरमा सन्तानको आवश्यकता महसुस हुन्छ। परिवारले सोच्न थाल्छ-अब बच्चा चाहिन्छ। सरकारी कार्यालयमा पनि यस्तै हुन्छ। कुनै सामान, सेवा वा निर्माण कार्यको आवश्यकता महसुस हुन्छ।
“अब नयाँ कम्प्युटर चाहियो।”
“अब भवन मर्मत गर्नुपर्यो।”
“अब सवारीसाधन चाहियो।”
यही आवश्यकता नै खरिद प्रक्रियाको पहिलो बिन्दु हो।
अर्थात्, सन्तानको आवश्यकता महसुस हुनु र कार्यालयमा खरिदको आवश्यकता महसुस हुनु-दुवै यात्राको सुरुवात हो।
२. योजना र तयारी-गर्भधारणअघिको सावधानी
बच्चा जन्माउने निर्णय भएपछि आमाले आफ्नो स्वास्थ्य, खानपान र नियमित जाँचमा ध्यान दिनुपर्छ।
सरकारी कार्यालयमा पनि खरिदको आवश्यकता देखिएपछि तुरुन्त बजारमा गएर सामान किन्न मिल्दैन।
बजेट छ कि छैन?
खरिद योजना छ कि छैन?
कुन विधिबाट खरिद गर्ने?
स्पेसिफिकेसन कस्तो बनाउने?
कति लागत लाग्छ?
यी सबै कुराको तयारी गर्नुपर्छ।
अर्थात्, गर्भमा स्वस्थ बच्चा हुर्काउन जति तयारी चाहिन्छ, सरकारी कार्यालयमा खरिद प्रक्रियालाई सफल पार्न पनि त्यति नै तयारी चाहिन्छ।
३. स्पेसिफिकेसन र लागत अनुमान – सन्तानका लागि हुन सक्ने खर्चको व्यवस्थापन
खरिद प्रक्रियामा स्पेसिफिकेसन वा कार्यसर्त अत्यन्त महत्त्वपूर्ण विषय हो। यसमा हामी कस्तो मालसामान, सफ्टवेयर वा प्रतिवेदन प्राप्त गर्न चाहेको हो भनी स्पष्ट खुलाइएको हुन्छ। सन्तान जन्माउने प्रक्रियामा यो एउटा चरणमा चाहिँ समानता छ भनेर उल्लेख गर्न सकिने देखिँदैन। यदि सन्तान जन्माउने प्रक्रियामा पनि स्पेसिफिकेसन तयार गर्न सकिने भए मानिसले आफूले चाहेजस्तै सन्तान जन्माउन सक्ने थिए। तर पनि आफूले चाहेजस्तो सन्तान जन्माउन विभिन्न प्रयासहरू गरेको भन्ने सुन्ने गरिएको छ। गलत स्पेसिफिकेसन तयार हुनु भनेको जन्मनुअघि नै बच्चाको आकार गलत अनुमान गर्नुजस्तै हो।
सरकारी कार्यालयले कुनै पनि खरिदका लागि लागत अनुमानको तयारी तथा स्वीकृति गर्नुपर्ने हुन्छ, जसलाई मानिसले आफ्नो सन्तान जन्माउँदा तथा हुर्काउँदाका लागि आवश्यक पर्ने खर्चको जोहोसँग तुलना गर्न सकिन्छ। सार्वजनिक खरिद प्रक्रियामा कहिलेकाहीँ लागत अनुमानभन्दा बढी पनि खर्च गर्नुपर्ने हुन्छ भने प्रायजसो लागत अनुमानभित्रै खरिद प्रक्रिया टुङ्गिने गरेको पाइन्छ। यस कारण पनि सन्तानका लागि जोहो गरेको रकमको खर्चलाई सार्वजनिक खरिदको लागत अनुमानसँग तुलना गर्दा फरक नपर्ला।
४. बोलपत्र आह्वान-गर्भधारण
सार्वजनिक खरिदमा बोलपत्र आह्वानलाई सन्तान जन्माउने प्रक्रियाको गर्भधारणसँग तुलना गर्न सकिन्छ। सार्वजनिक खरिदमा बोलपत्र आह्वान भएपश्चात् विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न कानुनले निश्चित समयसीमा तोकेको हुन्छ। जस्तै : बोलपत्र खोल्ने, बोलपत्रको मूल्याङ्कन, सारभूत रूपमा प्रभावग्राही तथा न्यूनतम मूल्याङ्कित बोलपत्रको छनोट, आशयको सूचना, सम्झौता गर्न आउने सूचना तथा समयसीमा आदि।
त्यसैगरी, सन्तान जन्माउने प्रक्रियामा गर्भधारणपश्चात् सम्बन्धित चिकित्सकको सल्लाहअनुसार चिकित्सकले तोकेबमोजिमको समयसीमामा विभिन्न क्रियाकलापहरू (आवश्यकताअनुसार चेकजाँच तथा औषधि सेवन) गर्नुपर्ने हुन्छ। फरक के छ भने सार्वजनिक खरिद प्रक्रियामा सबै समयसीमा सार्वजनिक खरिद ऐन तथा नियमावलीले तोकेको हुन्छ भने सन्तान जन्माउने प्रक्रियामा चिकित्सकले।
बोलपत्र आह्वानपश्चात् अब कार्यालय पर्खाइमा हुन्छ-
“कतिवटा प्रस्ताव आउँछन्?”
ठ्याक्कै प्रसूति हुने समय कुरिरहेको परिवारजस्तै।
५. बोलपत्र मूल्याङ्कन- प्रसूति कक्षभित्रको चरण
कतिपय अवस्थामा प्रसूति बेथा लागेपश्चात् सामान्य रूपमा सन्तानको जन्म हुने गर्दछ भने कतिपय अवस्थामा आमा र सन्तान दुवैको स्वास्थ्य अवस्था जटिल भई शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ शल्यक्रिया असफल हुँदा सन्तान जन्माउन फेरि नयाँ प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ।
त्यसैगरी, सार्वजनिक खरिद प्रक्रियामा तोकिएको समयभित्र पेस भएका बोलपत्रहरूको मूल्याङ्कन सबैभन्दा महत्त्वपूर्ण चरण हुन्छ।
कागजात ठीक छ कि छैन?
योग्यता पुगेको छ कि छैन?
स्पेसिफिकेसन पूरा गरेको छ कि छैन?
दर उचित छ कि छैन?
कानुनअनुसार प्रस्ताव योग्य छ कि छैन?
यस चरणमा अलिकति पनि लापरबाही भयो भने पछि ठूलो समस्या आउन सक्छ। बोलपत्रहरू असफल भई पुनः बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा सन्तान जन्माउन पुनः प्रक्रिया सुरु गरेजस्तै खरिद प्रक्रियाको सुरुको चरणदेखि नै सुरुवात गर्नुपर्ने पनि हुन्छ।
त्यसैले मूल्याङ्कन समिति भनेको प्रसूतिको अन्तिम अवस्थामा चिकित्सकको टोलीजस्तै संवेदनशील भूमिका खेल्ने समिति हो।
६. स्वीकृति र सम्झौता – बच्चाको जन्म
सबै प्रक्रिया पूरा भएपछि खरिद स्वीकृत हुन्छ र छनोट भएको आपूर्तिकर्ता वा निर्माण व्यवसायीसँग सम्झौता हुन्छ।
यही क्षणलाई बच्चा जन्मिएको क्षणसँग तुलना गर्न सकिन्छ।
तर कथा यहाँ सकिँदैन। बरु वास्तविक जिम्मेवारी त अब सुरु हुन्छ।
७. गुणस्तर परीक्षण-बच्चा स्वस्थ छ कि छैन?
बच्चा जन्मियो भन्दैमा बोकेर घर हिँडिहाल्न मिल्दैन। बच्चा स्वस्थ छ कि छैन भनेर केही समय वा दिन अस्पतालमै निगरानीमा राखेर जाँच गर्नुपर्ने हुन सक्छ।
सामान स्पेसिफिकेसनअनुसार छ कि छैन?
परिमाण पूरा छ कि छैन?
गुणस्तर ठीक छ कि छैन?
निर्माण कार्य सम्झौताअनुसार भएको छ कि छैन?
यी सबै परीक्षण आवश्यक हुन्छन्।
तर बच्चाको हकमा भने जसरी बच्चा जन्माउने प्रक्रियामा स्पेसिफिकेसन तयार गर्न सकिँदैन, त्यसरी नै स्पेसिफिकेसनअनुसार भयो कि भएन भनेर चेकजाँच गर्न पनि मिल्दैन र सार्वजनिक खरिदमा जस्तो स्पेसिफिकेसनअनुसार नभएको भनी अस्वीकृत गर्न पनि सकिँदैन।
८. सम्झौतापछिको कार्यान्वयन – बच्चा हुर्काउने जिम्मेवारी
बच्चा जन्मिएपछि अभिभावकको वास्तविक जिम्मेवारी सुरु हुन्छ।
खाना, स्वास्थ्य, शिक्षा, सुरक्षा र हेरचाह-सबै कुरा निरन्तर गर्नुपर्छ।
खरिद सम्झौता भएपछि पनि सरकारी कार्यालयको जिम्मेवारी सकिँदैन।
सामान समयमै आयो कि आएन?
निर्माण गुणस्तरीय भयो कि भएन?
सम्झौताअनुसार काम भयो कि भएन?
समयसीमा पालना भयो कि भएन?
भुक्तानी गर्नुपर्ने समय आयो कि आएन?
यी सबै कुराको अनुगमन गर्नुपर्छ।
अर्थात्, सम्झौता गर्नु बच्चा जन्माउनु मान्ने हो भने सम्झौता कार्यान्वयन गर्नु बच्चा हुर्काउनुजस्तै मान्नुपर्ने हुन्छ।
भुक्तानी माग गर्दै बिल प्राप्त भयो भन्दैमा तोकिएको स्पेसिफिकेसनबमोजिमकै मालसामान प्राप्त भएको र बच्चा स्वस्थ जन्मिएको प्रमाण हुँदैन !
९. भुक्तानी – अभिभावकले राहतको सास फेरेको क्षण
सबै कुरा ठीक भएपछि आपूर्तिकर्तालाई भुक्तानी गरिन्छ। त्यस्तै, अस्पतालले अब सबै ठीक छ, घर लैजान सक्नुहुन्छ भनेपछि मात्र अस्पतालको सबै हरहिसाब चुक्ता गरेर अभिभावकले बच्चा र आमालाई घर लैजाने गरिन्छ।
त्यसपछि कार्यालय र अभिभावकले पनि केही राहत महसुस गर्छन्।
“ल, अब यो खरिद सकियो !”
“ल, अब घर ल्याइयो !”
तर अनुभवी कर्मचारीलाई थाहा हुन्छ-
“खरिद सकियो भनेर ढुक्क नहुनु, फाइल अझै कति पटक खोलिन्छ र !”
अनुभवी अभिभावकलाई थाहा हुन्छ-
“बच्चा स्वस्थ जन्मियो भनेर ढुक्क नहुनु, बच्चालाई पालनपोषण गर्न कति कष्ट गर्नुपर्ने हुन्छ !”
१०. लेखापरीक्षण – बच्चा ठूलो भएपछि पुराना कुरा सम्झिने समय
अर्को वर्ष लेखापरीक्षण हुन्छ।
लेखापरीक्षकले सोध्न सक्छन्-
“किन खरिद गरियो?”
“कुन विधिबाट गरियो?”
“कसरी मूल्याङ्कन गरियो?”
“सम्झौता कहाँ छ?”
“सामान प्राप्तिको प्रमाण कहाँ छ?”
“भुक्तानी कसरी गरियो?”
अनि कर्मचारीले पुरानो फाइल पल्टाउँदै सोच्न सक्छ-
“यो खरिद त धेरै वर्षअघि जन्मिएको बच्चाजस्तै रहेछ, अहिले फेरि यसको सबै इतिहास खोज्नुपर्यो !”
निष्कर्ष
सन्तान जन्माउने प्रक्रिया प्राकृतिक हो भने सार्वजनिक खरिद प्रक्रिया कानुनी र प्रशासनिक प्रक्रिया हो। दुवैलाई शाब्दिक रूपमा समान भन्न त कुनै हालतमा पनि मिल्दैन। तर खरिदमा संलग्न कर्मचारी र सन्तान जन्माउने आमाहरूको वास्तविक पीडा खरिदमा संलग्न नभएका कर्मचारी र आमा नबनेका महिलाहरूले अनुमान मात्र गर्न सक्छन्। सन्तान जन्माउन योजना, तयारी, धैर्य, नियमित निगरानी र जिम्मेवारी चाहिन्छ।
सार्वजनिक खरिदमा पनि आवश्यकताको पहिचान, योजना, सही स्पेसिफिकेसन, पारदर्शी प्रतिस्पर्धा, निष्पक्ष मूल्याङ्कन, सम्झौता व्यवस्थापन, गुणस्तर नियन्त्रण र जवाफदेहिता चाहिन्छ।
फरक यति मात्र हो-
आमाले करिब नौ महिनामा सन्तान जन्माउँछिन्,
तर सरकारी कार्यालयले कहिलेकाहीँ एउटा सामान खरिद गर्न त्योभन्दा पनि लामो समय लगाउँछ !
त्यसैले सार्वजनिक खरिदलाई अनावश्यक रूपमा जटिल बनाउने होइन, कानुनको पालना गर्दै समयमै, पारदर्शी, प्रतिस्पर्धी, मितव्ययी र गुणस्तरीय खरिद गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो।
जसरी एउटा स्वस्थ सन्तान जन्माउन परिवारका सबै सदस्यहरूले सकारात्मक भूमिका खेल्नुपर्ने हुन्छ, त्यसैगरी सार्वजनिक खरिदलाई सफल बनाउन सम्बन्धित कार्यालयमा कार्यरत सबै कर्मचारीहरू तथा नियामक निकायहरूको सकारात्मक भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।
सन्तान जन्माउन संयुक्त प्रयास अनिवार्य सर्त हो भने खरिद कार्य सम्पन्न गर्नु सामूहिक जिम्मेवारी हो।



