चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडीबाट १३६ किलो ५०० ग्राम गाँजासहित एक ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले ट्रक रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपेर राखिएका १० वटा पोकाबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका–४, पान्द्राङ निवासी २७ वर्षीय रञ्जित सुनारलाई नियन्त्रणमा लिएको छ।
बरामद गाँजा, ट्रक र पक्राउ परेका चालकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



