म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बाढी पहिरो र नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारबाट सुरक्षित स्थानमा सार्न प्रस्ताव गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री पुनले जोखिमयुक्त क्षेत्रको संरक्षण मात्रै पर्याप्त नहुने भन्दै सदरमुकाम स्थानान्तरणको विकल्पमा छलफल गर्नुपर्ने बताएका हुन् । उनले भने, “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्यो । संरक्षण गर्ने कि सार्ने, त्यो छलफल गरौँ ।”
असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि कालीगण्डकीमा आएको बाढीले बेनी नगरपालिका–८, गणेश टोलको पक्की तटबन्ध भत्काएको छ भने कुनातर्फको भिरालो जमिन चर्किएर पहिरो खस्न थालेको छ । नगरप्रमुख सुरत केसीले सदरमुकामको बस्ती तथा संरचना जोगाउन संघीय र प्रदेश सरकारसँग बजेट माग गरेका छन् ।
मन्त्री पुनले विपद् प्रभावित स्थानीय तहलाई जोखिमका आधारमा वर्गीकरण गरी २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय भएको जानकारी दिए । उनले पुनर्निर्माण र पुन:स्थापनामा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
छलफलमा प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बर्खाअघि नै जोखिम न्यूनीकरणका काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पुनर्निर्माण र पुन:स्थापनाका लागि बजेट प्रमुख चुनौती रहेको बताए ।




