ललितपुर । रसुवाको हाकुबेसी आधारभूत विद्यालयका बाढी प्रभावित ६७ बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन ललितपुरको गोदावरीमा आवासीय सुविधासहितको अस्थायी विद्यालय सञ्चालन गरिने भएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा बालबालिकाको शिक्षा, आवास, स्वास्थ्य र संरक्षण सुनिश्चित गर्न विद्यालय सञ्चालन गर्न लागिएको हो । विद्यालय सञ्चालनका लागि शुक्रबार मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार आगामी कात्तिकदेखि चैत मसान्तसम्म गोदावरी नगरपालिकाभित्र कक्षा १ देखि ८ सम्मका बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार र नियमित पठनपाठनको व्यवस्था गरिनेछ।
भदौ १० गतेको बाढीले विद्यालयको पठनपाठन अवरुद्ध भएपछि विस्थापित बालबालिकाको शैक्षिक भविष्य सुरक्षित गर्न कार्यक्रम अघि बढाइएको हो । आमाछोदिङमो गाउँपालिकाको असोज १८ गतेको निर्णयपछि मन्त्रालयले असोज २० गते प्रस्ताव आह्वान गरेको थियो ।
समझदारी पत्रमा मन्त्रालयका निमित्त सचिव विपीन आचार्य र पुनर्निर्माण अभियान नेपालका उपाध्यक्ष युवराज शर्मा शिवाकोटीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्बन्धित स्थानीय तह, शिक्षा तथा खेलकुद मन्त्रालय र विद्यालयका प्रतिनिधि रोहबरमा थिए ।
समझदारीअनुसार विद्यालय सञ्चालन, जनशक्ति, आवास, पोषण र स्वास्थ्य सेवाको सम्पूर्ण खर्च पुनर्निर्माण अभियान नेपालले आफ्नै स्रोतबाट व्यहोर्नेछ । मन्त्रालयले समन्वय तथा अनुगमन गर्नेछ भने सम्बन्धित स्थानीय तहले शैक्षिक व्यवस्थापनमा सहजीकरण गर्नेछन् । बालबालिकाको सुरक्षा, गोपनीयता र सर्वोत्तम हितलाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरिनेछ ।
चैत मसान्तपछि पनि उनीहरूको शिक्षा र संरक्षणमा अवरोध नआउने व्यवस्था मिलाउनुपर्ने समझदारी पत्रमा उल्लेख छ।




