सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान करिब ९ बजे स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो। सोही क्रममा रघुनन्दन रायले तेतर रायलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राख्दै अनुसन्धान अघि बढाएको थियो।
घटनामा संलग्न रहेको आरोपमा रघुनन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




