एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातस्थित एक औषधि कारखानामा भएको विस्फोटमा परी कम्तीमा पाँच जना कामदारको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । स्थानीय अधिकारीले शनिबार उक्त जानकारी दिएका हुन् ।
गुजरातको राजधानी गान्धीनगरबाट करिब २१० किलोमिटर दक्षिणमा पर्ने भरुच जिल्लाको सयाखा गुजरात औद्योगिक विकास निगम (जिआइडिसी) क्षेत्रमा रहेको कारखानामा शुक्रबार राति विस्फोट भएको थियो ।
जिल्ला मजिस्ट्रेटको कार्यालयका एक स्थानीय अधिकारीका अनुसार घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो। विस्फोटपछि मिथाइलिन डाइक्लोराइड ग्याससमेत चुहावट भएको समाचारमा जनाइएको छ ।



