जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गए राती ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका ७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते धिरजलाई तत्काल उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएकोमा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका २ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए।
घाइते मध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुवै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालक धनुषाधाम नगरपालिका २ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।



