काठमाडौँ । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीन परियोजना अनुकूलन कोषबाट स्वीकृत भएको छन् ।
अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले शुक्रबार तीनवटै परियोजना स्वीकृत गरेको हो । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सीमित वित्तीय स्रोत र बढ्दो विश्वव्यापी मागबीच नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताइन् ।
उनका अनुसार परियोजनाले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पारिस्थितिक प्रणाली संरक्षण तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायको उत्थानशीलता अभिवृद्धिमा सहयोग पुर्याउनेछन् ।
स्वीकृत परियोजनामध्ये राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) कार्यान्वयन निकाय रहेको ‘ग्रिन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर प्रस्ताव गरिएको छ । यसले प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मार्फत कार्यान्वयन हुने हिन्दुकुश हिमालय क्षेत्रको बाढी तथा पहिरो पूर्वसूचना प्रणाली सुदृढीकरण परियोजनाका लागि तीन करोड अमेरिकी डलर प्रस्ताव गरिएको छ ।
लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा आधारित प्रकृतिमैत्री जलवायु कार्यक्रम सञ्चालन गर्न ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर प्रस्ताव गरिएको छ । यसको कार्यान्वयन निकाय यूएन-ह्याबिटाट हो ।
मन्त्री चौधरीले स्वीकृत परियोजनाबाट विपद् व्यवस्थापन, स्थानीय समुदायको क्षमता विकास र जलवायु उत्थानशील पूर्वाधार निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।




