काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको भनी दिएको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन्।
भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रवादसम्बन्धी धारणा परिवर्तन भएको उल्लेख गरेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन्।
सम्मेलनमा वाग्लेले कुनै समय नेपालमा राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोडेर व्याख्या गर्ने गरिएको भए पनि त्यस्तो अवस्था अब नरहेको बताएका थिए।
उनको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै ज्ञवालीले नेपालमा कहिल्यै ‘भारत विरोधी राष्ट्रवादको युग’ नरहेको दाबी गरेका छन्। उनले अर्थमन्त्रीले कुन ऐतिहासिक कालखण्डलाई त्यस्तो युगका रूपमा चित्रण गरेको हो भन्ने प्रश्नसमेत उठाएका छन्।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले वाग्लेको अभिव्यक्तिलाई गैरकूटनीतिक र असान्दर्भिक भन्दै त्यसले नेपालको राष्ट्रिय स्वाभिमान तथा हितमा आँच पुर्याउने टिप्पणी गरेका छन्।
अर्थमन्त्रीको अभिव्यक्ति र त्यसप्रति पूर्वपरराष्ट्रमन्त्रीको प्रतिक्रियाले नेपालको राष्ट्रवादको व्याख्या तथा भारतसँगको सम्बन्धबारे दुई नेताबीचको दृष्टिकोणगत भिन्नता सार्वजनिक गरेको छ।
ज्ञवालीले नेपालले भारतसँग सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मैत्रीपूर्ण सम्बन्ध चाहँदै आएको उल्लेख गरेका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र मुलुकको धारणा अथवा एउटा ऐतिहासिक युगका रूपमा व्याख्या गर्न नमिल्ने उनको तर्क छ।
उनले नेपाल-भारत सम्बन्धमा रहेका सीमा विवाद, सन् १९५० को सन्धिका प्रावधान, व्यापार असन्तुलन तथा नेपाली वस्तुको भारतीय बजारमा पहुँचलगायतका विषयलाई पनि सम्बोधन गर्नुपर्ने बताएका छन्। यस्ता समस्या उठाउनुलाई भारतको विरोधका रूपमा बुझ्न नहुने उनको भनाइ छ।





