काठमाडौँ । डिजिटल वालेट सेवा प्रदायक खल्तीका कर्मचारी भएको परिचय दिँदै सर्वसाधारणको बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले ठगीमा संलग्न रहेको आरोपमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले आफूलाई खल्तीको कर्मचारी बताउँदै सेवाग्राहीलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए। उनीहरूले ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) अद्यावधिक नगरे डिजिटल वालेट बन्द हुने भन्दै प्रयोगकर्तालाई विश्वासमा पार्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
त्यसैगरी, बैंक खातालाई डिजिटल वालेटसँग जोडिदिने, व्यावसायिक खातामा रकम प्राप्त हुँदा आवाजमार्फत जानकारी दिने ई–स्पिकर सेवा उपलब्ध गराउने तथा रकम स्थानान्तरण गर्दा लाग्ने शुल्क नलाग्ने व्यवस्था मिलाइदिने भन्दै विभिन्न सुविधा दिने आश्वासनसमेत देखाउने गरेको प्रहरीले जनाएको छ।
यसरी विश्वासमा पारेपछि उनीहरूले फोन तथा ह्वाट्सएपमा अडियो र भिडियो कल गरी प्रयोगकर्तालाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने गरेका थिए। सोही क्रममा एक पटक प्रयोग हुने गोप्य पासवर्ड (ओटीपी) समेत प्राप्त गरी सम्बन्धित व्यक्तिको बैंक खातामा अनधिकृत पहुँच पुर्याएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।





