काठमाडौँ। मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र काम सम्पन्न नभएको र पटक-पटक म्याद थप गर्दा पनि प्रगति न्यून रहेपछि ठेक्का तोडिएको हो।
केचना–कञ्चनजङ्घा सडकअन्तर्गत पर्ने उक्त ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दा समेत भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो।
पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम मात्रै प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ।
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ भने ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।
ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने जनाइएको छ।





