काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको भनिएको सोधपुछ, धरपकड र पक्राउका घटनाबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ।
पार्टीका नेता जगदीश खरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका पत्रकार पक्राउसम्बन्धी विवरणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। उनले ती घटनाबारे स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन्।
खरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक अधिकार भएको उल्लेख गर्दै त्यसको सम्मान र संरक्षणप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
समाचार प्रकाशन वा प्रसारणकै कारण कुनै पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने विषयमा रास्वपाको स्पष्ट धारणा रहेको उनको भनाइ छ।
‘समाचारकै विषयमा कुनै पनि पत्रकार वा संचारकर्मीलाई गैरकानुनी रुपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट छ,’ खरेलले लेखेका छन्।
समाचारसँग सम्बन्धित विवाद वा असहमतिमा न्याय खोज्ने अन्य उपाय उपलब्ध रहेको उल्लेख गर्दै उनले त्यस्ता उपाय अवलम्बन गर्न आग्रह गरेका छन्। ‘न्यायको खोजी गर्ने अरु धेरै बाटोहरू खुला नै छन, त्यसलाई अवलम्बन गरौँ,’ उनले भनेका छन्।
विभिन्न सञ्चारगृहमा प्रहरी पुगेको तथा पत्रकारलाई नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भइरहेका बेला रास्वपाले घटनाबारे सरकारको धारणा माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिएको हो।




