काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाजुरामा करिब सात वर्षदेखि अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाउने प्रक्रिया थालिएको जानकारी दिएका छन्।
मन्त्री लम्सालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाजुराको बूढीगंगा-त्रिवेणी र बडिमालिका-गौमुल जोड्ने पुल निर्माणका लागि यसअघि गरिएको ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाइएको बताएका हुन्।
उनका अनुसार ती पुल निर्माणका लागि २०७५ सालमा ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा ठेक्का आह्वान गरिएको थियो। तर, निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेपछि ठेक्का रद्द गरिएको हो।
करिब सात वर्षदेखि अलपत्र अवस्थामा रहेका दुवै पुलको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको मन्त्री लम्सालले जानकारी दिएका छन्।
वर्षायाममा पुलको अभावका कारण सम्बन्धित स्थानीय तहबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहेको उल्लेख गर्दै उनले निर्माण कार्य शीघ्र अघि बढाउन आवश्यक रहेको बताएका छन्।
निर्माण प्रक्रिया अघि बढाउने तयारीस्वरूप दुवै आयोजनास्थलमा इन्जिनियर खटाएर स्थलगत परीक्षण (साइट भेरिफिकेसन) सम्पन्न गरिएको उनको भनाइ छ।
मन्त्री लम्सालले फेसबुकमा ‘अलपत्र ठेक्काहरू रहने छैनन् !’ भन्दै लामो समयदेखि रोकिएका पूर्वाधार आयोजनाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




