काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने गतिविधिमा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कुनै व्यक्ति वा संस्था नरहेको स्पष्ट पारेका हुन्।
‘एउटा कुरा म के स्पष्ट पार्छु भने संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही छैन। कोही छैन। रास्वपा यसमा स्पष्ट छ। रवि लामिछाने यसमा स्पष्ट छ,’ उनले भने।
लामिछानेले संविधान र लोकतान्त्रिक व्यवस्थामा असर पुर्याउने गतिविधि गर्ने व्यक्तिले आफ्नो भूमिकाको जिम्मेवारी लिनुपर्ने बताए।
‘कसैले पनि यसमा द्विविधा लिनुपर्दैन। यसमा आँच आउने कुनै पनि क्रियाकलाप जो कोहीले पनि गरेको छ भने त्यो सजायको भागीदार हुनुपर्छ। त्यसले जिम्मेवारी लिनुपर्छ भनेर हामीले स्पष्ट रूपमा भनेका छौँ,’ लामिछानेले भने।
उनले संविधान र लोकतन्त्रको संरक्षणका विषयमा रास्वपाको धारणा स्पष्ट रहेको उल्लेख गर्दै त्यसविपरीत हुने गतिविधिमा संलग्न व्यक्तिलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए।
पछिल्ला राजनीतिक तथा न्यायिक घटनाक्रमका बीच रास्वपाले शनिबार सचिवालय बैठक आयोजना गरेको हो। बैठकअघि लामिछानेले न्याय क्षेत्रसँग सम्बन्धित विवादबारे पार्टीका मन्त्री तथा कानुनी पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका थिए।




