काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा कुमार बेनले गरेको पोस्टमा प्रतिक्रिया जनाउँदै पत्रकार र कलाकारको भूमिकाबारे प्रश्न उठाएका छन्।
बेनको फेसबुक पोस्टमा प्रधानमन्त्री शाहको नामबाट गरिएको टिप्पणीमा लेखिएको छ, ‘कुपण्डोल जाने मात्र पत्रकार ? अरू कलाकार ?’
सामाजिक सञ्जालमा सार्वजनिक भएको स्क्रिनसटमा बेनको पोस्टमुनि ‘वालेन शाह’ नामको खाताबाट उक्त प्रतिक्रिया आएको देखिन्छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहेका बेनले आइतबार फेसबुकमा पत्रकार पक्राउ प्रकरणसँग जोडिएको भनिएको २८ जनाको सूचीबारे व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। उनले सूचीमा को-को परेको भन्दै विभिन्न पत्रकारलाई उल्लेख गरेका थिए।
यसअघि प्रधानमन्त्रीको सचिवालयले २८ जना पत्रकारको सूची प्रहरीलाई उपलब्ध गराएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउमा आफ्नो संलग्नता र पूर्वजानकारी नरहेको बताएको छ। प्रहरीले भने प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको स्पष्टीकरण दिएको थियो।




